याहवेहले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने, तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्गुर र किसमिस पनि खानुहुँदैन। जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन। “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ। “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्। तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ। तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्। “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ। त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्। तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
गन्ती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 6:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू