परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘कुनै पुरुष वा स्त्रीले विशेष भाकल, अर्थात् परमप्रभुको निम्ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्छा गर्छ भने, त्यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्। त्यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्। जति दिनसम्म त्यो नाजिरी भएर अलग बस्छ, त्यसले दाखका बीउदेखि लिएर बोक्रासम्म केही नखाओस्। “त्यो अलग हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई अलग राख्छ, त्यो समय पूरा नहोउञ्जेल त्यो शुद्ध बसोस्। त्यसले आफ्नो कपाल लामो हुन देओस्। जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राख्छ, त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्। त्यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्, किनभने आफ्ना परमेश्वरको निम्ति अलग भएको चिन्ह त्यसको शिरमा छ। त्यसका अलग बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ। “‘अचानक कुनै मानिस त्यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्यो भने, शुद्धि हुने सातौँ दिनमा त्यसले आफ्नो कपाल खौरोस्। अनि आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। मुर्दाको नजिक भएर त्यसले पाप गरेको हुनाले पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्। अनि त्यही दिन त्यसले आफ्नो शिर चोख्याओस्। आफू अलग रहने समय होउञ्जेल त्यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्ति एक वर्षे थुमा ल्याओस्। त्यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्ती हुनेछैन।
गन्ती 6 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 6:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू