गन्ती 6:1-12
गन्ती 6:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘कुनै पुरुष वा स्त्रीले विशेष भाकल, अर्थात् परमप्रभुको निम्ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्छा गर्छ भने, त्यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्। त्यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्। जति दिनसम्म त्यो नाजिरी भएर अलग बस्छ, त्यसले दाखका बीउदेखि लिएर बोक्रासम्म केही नखाओस्। “त्यो अलग हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई अलग राख्छ, त्यो समय पूरा नहोउञ्जेल त्यो शुद्ध बसोस्। त्यसले आफ्नो कपाल लामो हुन देओस्। जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राख्छ, त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्। त्यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्, किनभने आफ्ना परमेश्वरको निम्ति अलग भएको चिन्ह त्यसको शिरमा छ। त्यसका अलग बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ। “‘अचानक कुनै मानिस त्यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्यो भने, शुद्धि हुने सातौँ दिनमा त्यसले आफ्नो कपाल खौरोस्। अनि आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। मुर्दाको नजिक भएर त्यसले पाप गरेको हुनाले पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्। अनि त्यही दिन त्यसले आफ्नो शिर चोख्याओस्। आफू अलग रहने समय होउञ्जेल त्यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्ति एक वर्षे थुमा ल्याओस्। त्यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्ती हुनेछैन।
गन्ती 6:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने, तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्गुर र किसमिस पनि खानुहुँदैन। जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन। “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ। “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्। तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ। तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्। “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ। त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्। तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
गन्ती 6:1-12 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने। त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस् अथवा सुकेको, दाख खानु हुँदैन। जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन। “त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा त्यो व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुन्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ। “जतिन्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन। उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ। जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ। अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ। तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्। तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। ऊ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ। अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक बर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।
गन्ती 6:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरूलाई यी तल लेखिएका आदेशहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्त्री, जसले नाजिरी बन्नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ, त्यो दाखमद्य र अन्य मद्य पिउनदेखि जोगिओस्। त्यसले दाखबाट वा कुनै मद्यबाट बनेको सिर्का नपिओस्। त्यसले अङ्गुरको रस नपिओस् र ताजा वा सुकाएका दाखहरू नखाओस्। जबसम्म त्यसले नाजिरीको भाकल राख्दछ, त्यसले दाखको बोटबाट पाइने कुनै कुरो– बीयाँ, फल वा बोक्रा केही नखाओस्। “जबसम्म त्यसले नाजिरीको भाकल राख्छ, त्यसले आफ्ना केश काट्न वा खौरनुहुँदैन। परमप्रभुकहाँ चढाइएको पूरा समयभरि त्यो नाजिरीको भाकलले बाँधिएको हुन्छ र त्यसले आफ्ना केश बढ्न दिनुपर्नेछ। केश त्यसको परमप्रभुमा चढाइएको चिनो हो र त्यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्यो आफ्नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्। जबसम्म त्यो नाजिरी रहनेछ, त्यो परमप्रभुमा चढाइएको हुनेछ। “त्यो कसैको छेउमा बसेको छ र त्यो व्यक्ति अचानक मरिगयो र त्यसकारणले नाजिरीको चढाइएको केश अपवित्र भयो भने त्यसले सात दिनसम्म पर्खोस्। अनि त्यसले आफ्नो केश र दाह्री खौरोस् र यसरी ऊ विधिअनुसार शुद्ध हुनेछ। त्यसपछि आठौँ दिनमा त्यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। पूजाहारीले एउटाचाहिँ पापबलि र अर्को होमबलिको रूपमा चढाओस् र त्यसको शुद्धीकरणको विधि पूरा गरोस् किनभने त्यसले लाश छोएको छ। त्यही दिन त्यसले आफ्ना केश अर्पण गरेर परमप्रभुकहाँ आफूले भाकल गरेको नाजिरी रहने समयभरिको लागि फेरि आफैंलाई समर्पण गरोस्। त्यसको अर्पण गरिएका केश अपवित्र भएको कारणले त्यसले अघि नाजिरी भएर बिताएको समय गनिनेछैन। त्यसले एउटा एक वर्षको भेडाको थुमा दोषबलिको निम्ति ल्याओस्।