गन्ती 6
6
नाजिरी
1याहवेहले मोशालाई भन्नुभयो, 2“इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने, 3तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्गुर र किसमिस पनि खानुहुँदैन। 4जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन।
5“ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ।
6“ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्। 7तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ। 8तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्।
9“ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ। 10त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। 11नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्। 12तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
13“ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू; 14र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्। 15यसकासाथै तिनीहरूका अन्नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्।
16“ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्। 17पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।
18“ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ।
19“ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्। 20त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
21“ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”
पुजारीले दिने आशीर्वाद
22याहवेहले मोशालाई भन्नुभयो, 23“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्नू:
24“ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
25याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
26याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।” ’
27“यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”
अहिले सेलेक्ट गरिएको:
गन्ती 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.