YouVersion लोगो
खोज आइकन

गन्‍ती 6:1-12

गन्‍ती 6:1-12 सरल नेपाली

इस्राएलीहरूलाई यी तल लेखिएका आदेशहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्‍त्री, जसले नाजिरी बन्‍नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ, त्‍यो दाखमद्य र अन्‍य मद्य पिउनदेखि जोगिओस्। त्‍यसले दाखबाट वा कुनै मद्यबाट बनेको सिर्का नपिओस्। त्‍यसले अङ्‌गुरको रस नपिओस् र ताजा वा सुकाएका दाखहरू नखाओस्। जबसम्‍म त्‍यसले नाजिरीको भाकल राख्‍दछ, त्‍यसले दाखको बोटबाट पाइने कुनै कुरो– बीयाँ, फल वा बोक्रा केही नखाओस्। “जबसम्‍म त्‍यसले नाजिरीको भाकल राख्‍छ, त्‍यसले आफ्‍ना केश काट्‍न वा खौरनुहुँदैन। परमप्रभुकहाँ चढाइएको पूरा समयभरि त्‍यो नाजिरीको भाकलले बाँधिएको हुन्‍छ र त्‍यसले आफ्‍ना केश बढ्‍न दिनुपर्नेछ। केश त्‍यसको परमप्रभुमा चढाइएको चिनो हो र त्‍यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्‍यो आफ्‍नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्। जबसम्‍म त्‍यो नाजिरी रहनेछ, त्‍यो परमप्रभुमा चढाइएको हुनेछ। “त्‍यो कसैको छेउमा बसेको छ र त्‍यो व्‍यक्ति अचानक मरिगयो र त्‍यसकारणले नाजिरीको चढाइएको केश अपवित्र भयो भने त्‍यसले सात दिनसम्‍म पर्खोस्। अनि त्‍यसले आफ्‍नो केश र दाह्री खौरोस् र यसरी ऊ विधिअनुसार शुद्ध हुनेछ। त्‍यसपछि आठौँ दिनमा त्‍यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्। पूजाहारीले एउटाचाहिँ पापबलि र अर्को होमबलिको रूपमा चढाओस् र त्‍यसको शुद्धीकरणको विधि पूरा गरोस् किनभने त्‍यसले लाश छोएको छ। त्‍यही दिन त्‍यसले आफ्‍ना केश अर्पण गरेर परमप्रभुकहाँ आफूले भाकल गरेको नाजिरी रहने समयभरिको लागि फेरि आफैंलाई समर्पण गरोस्। त्‍यसको अर्पण गरिएका केश अपवित्र भएको कारणले त्‍यसले अघि नाजिरी भएर बिताएको समय गनिनेछैन। त्‍यसले एउटा एक वर्षको भेडाको थुमा दोषबलिको निम्‍ति ल्‍याओस्।

गन्‍ती 6 पढ्नुहोस्