छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।” तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्न छु। यिनको कुरा सुन!” चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे। तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ, नडराओ।” जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्। उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्नू।” चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले उत्तर दिनुभयो, “एलिया साँच्चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्ट भोग्नेछ।” तब उहाँले बप्तिस्मा दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको भनी चेलाहरूले बुझे।
मत्ती 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 17:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू