YouVersion लोगो
खोज आइकन

मत्ती 17:1-13

मत्ती 17:1-13 सरल नेपाली

छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई मात्रै साथमा लिएर अग्‍लो पहाडतिर जानुभयो। माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्‍तै चम्‍किन लाग्‍यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो अनि एक्‍कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। यो देखेर पत्रुसले येशूलाई भने, “प्रभु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा छाप्रो बनाउँछु, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो अनि बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।” यो आवाज सुनेर चेलाहरू डराएर घोप्‍टो परे। तर येशू आएर तिनीहरूलाई छुँदै भन्‍नुभयो, “उठ, नडराऊ!” अनि तिनीहरूले उठेर हेर्दा त त्‍यहाँ येशू मात्रै हुनुहुन्‍थ्‍यो। पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्‍म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्‍नू।” चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्‍छन्?” येशूले जवाफ दिनुभयो, “हो, साँच्‍चै सबै कुरा सच्‍याउन एलिया आउनु नै पर्छ। हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्‍यस्‍तै गरी मार्नेछन्।” तब येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे।

मत्ती 17 पढ्नुहोस्