YouVersion लोगो
खोज आइकन

मत्ती 17:1-13

मत्ती 17:1-13 NNRV

यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो। तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो, र उहाँका वस्‍त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा वासस्‍थान बनाउनेछु, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।” जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्‍टो परे। तर येशूले आएर तिनीहरूलाई छोएर भन्‍नुभयो, “उठ, नडराओ।” जब तिनीहरूले आफ्‍ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्‌। जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।” अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्‍त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्‍छन्‌?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एलिया साँच्‍ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्‍याउनेछन्‌। तर म तिमीहरूलाई भन्‍दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्‍यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्‍ट भोग्‍नुपर्नेछ।” तब उहाँले बप्‍तिस्‍मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको हो भनी चेलाहरूले बुझे।