YouVersion लोगो
खोज आइकन

मत्ती 17

17
येशूको रूप परिवर्तन
1छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पर्वतमा लानुभयो। 2त्यहाँ तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैं चम्क्यो, अनि उहाँको वस्त्र ज्योतिझैं सेता भए। 3त्यसै बेला तिनीहरूका सामुन्‍ने मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे।
4पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीं रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीनओटा वासस्थान बनाउनेछु; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।”
5तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”
6जब चेलाहरूले यो सुने, तिनीहरू डरले घोप्टो परेर भुइँमा लडे। 7तर येशूले आएर तिनीहरूलाई छुनुभयो अनि भन्‍नुभयो, “उठ, नडराओ।” 8जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्।
9उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”
10चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
11येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। 12तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि तिनीहरूले तिनलाई चिन्‍न सकेनन्, तर तिनलाई तिनीहरूले मनपरी व्यवहार गरे। यस्तै किसिमले मानिसका पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछन्।” 13तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।
येशूद्वारा भूत लागेकोलाई निको पारिएको
14जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, एकजना मानिसले येशूकहाँ आएर उहाँको सामुन्‍ने घुँडा टेकेर भन्यो, 15“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, अनि उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। 16मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ तर तिनीहरूले यसलाई निको पार्न सकेनन्।”
17येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” 18येशूले त्यस भूत आत्मालाई हप्काउनुभयो, अनि त्यो त्यस केटोबाट निस्किएर गयो, अनि त्यो केटो त्यसै घडीदेखि निको भयो।
19तब चेलाहरू गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौं?”
20उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, अनि त्यो हटिजानेछ। तिमीहरूको लागि कुनै कुरो पनि असम्भव हुनेछैन। 21तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।#17:21 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन
आफ्नो मृत्युबारे येशूको दोस्रो भविष्यवाणी
22जब उहाँहरू एकसाथ गालीलमा आउनुभयो, येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्। 23तिनीहरूले उसलाई मार्नेछन्, अनि तेस्रो दिनमा उहाँ जीवित पारिनुहुनेछ छ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।
मन्दिरको कर
24येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर#17:24 प्राचीन पा.लि. अनुसार दुई ड्राक्माको सिक्‍का तिर्दैनन्?”
25तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।”
जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?”
26पत्रुसले जवाफ दिए, “अरूबाट।”
येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त तिर्नु नपर्ने रहेछ। 27तरै पनि तिनीहरू नचिढिऊन् भनेर, जाऊ अनि तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ; यसको मुख खोल र तिमीले एउटा चाँदीको सिक्‍का#17:27 चाँदीको सिक्‍का एक चाँदीको सिक्‍का बराबर चार ड्राक्माको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रो अनि मेरो कर भनेर तिनीहरूलाई दिइहाल।”

अहिले सेलेक्ट गरिएको:

मत्ती 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्