YouVersion लोगो
खोज आइकन

लेवी 8:14-24

लेवी 8:14-24 NCV

त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे। मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्‍चित गर्नलाई वेदीलाई अर्पण गरे। मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए। तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए। त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए। मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्‍नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए। मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।

लेवी 8 पढ्नुहोस्