YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 8:14-24

लेवीहरूको पुस्तक 8:14-24 NERV

यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए। त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे। तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो। त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेंडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेंडाको टाउकोमाथि राखे। त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए।