YouVersion लोगो
खोज आइकन

लेवी 8:14-24

लेवी 8:14-24 सरल नेपाली

तब मोशाले पापबलिको साँढे ल्‍याए र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे। मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्‍याए। त्‍यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे। मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए। तिनले बाँकी साँढे, त्‍यसका छाला, मासु र आन्‍द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए। त्‍यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्‍याए र हारून र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे। मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत वेदीका चारैपट्टि छर्के। तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्‍यसका भित्री अङ्गहरू र पछिल्‍ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्ने भयो। तब मोशाले पूजाहारीहरूका अभिषेकको निम्‍ति राखिएको दोस्रो साँढ-भेडा ल्‍याए र हारून र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे। मोशाले त्‍यसलाई मारे र त्‍यसको केही रगत लिएर हारूनको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलाहरूमा लगाइदिए। तब तिनले हारूनका छोराहरूलाई अघि ल्‍याए र केही रगत तिनीहरूका दाहिने कानका लोती र दाहिने हात र खुट्टाका बुढी औँलाहरूमा लगाईदिए। उब्रेको रगत मोशाले वेदीको चारैपट्टि खन्‍याईदिए।

लेवी 8 पढ्नुहोस्