YouVersion लोगो
खोज आइकन

लेवीहरू 8:14-24

लेवीहरू 8:14-24 NNRV

त्‍यसपछि तिनले पापबलिको साँढ़े ल्‍याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्‍ना हात राखे। तब तिनले त्‍यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्‍नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्‍याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्‍याए। त्‍यसको निम्‍ति प्रायश्‍चित गर्न तिनले यसरी वेदी चोख्‍याए। मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए। तर साँढ़ेचाहिँ त्‍यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्‍यसपछि तिनले होमबलिको भेड़ा प्रस्‍तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्‍ना हात भेड़ाको टाउकोमा राखे। तब तिनले त्‍यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के, र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए। मोशाले आन्‍द्रा-भुँड़ी र खुट्टाहरू पानीले पखाले, र त्‍यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको होमबलि स्‍वरूप तिनले सिङ्गै भेड़ा वेदीमा जलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्‍यसपछि तिनले अर्को भेड़ा, अर्थात्‌ अर्पणको भेड़ा प्रस्‍तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्‍ना हात त्‍यस भेड़ाको टाउकोमा राखे। तब मोशाले त्‍यसलाई मारे, र तिनले त्‍यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए। त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।