YouVersion लोगो
खोज आइकन

लेवी 23:33-44

लेवी 23:33-44 NCV

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ। पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू। सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू। (“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू। यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।) “ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामदिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो। पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू। यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू। तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू। अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए।

लेवी 23 पढ्नुहोस्