YouVersion लोगो
खोज आइकन

प्रस्थान 16:1-12

प्रस्थान 16:1-12 NCV

इस्राएलीहरूका सारा समुदाय एलीमबाट हिँडे, र सीनैको उजाडस्थानमा आइपुगे। यो एलीम र सीनैको बीचमा थियो। तिनीहरू इजिप्टबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौँ दिन भइसकेको थियो। त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए। इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।” तब याहवेहले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ। छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।” यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “याहवेहले नै तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्‍नेछौ। अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?” मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्‍नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्‍वरको विरुद्धमा गनगनाइरहेका छौ।” तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’ ” हारून सारा इस्राएली समुदायसित बोल्दैगर्दा तिनीहरूले उजाडस्थानतिर हेरे; अनि त्यहाँ याहवेहको महिमा बादलमा देखा पर्‍यो। याहवेहले मोशालाई भन्‍नुभयो, “मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।’ ”

प्रस्थान 16 पढ्नुहोस्