प्रस्थान 16:1-12
प्रस्थान 16:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्केको दोस्रो महिनाको पन्ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्थानमा आइपुगे। तब सारा समुदाय त्यहाँ मोशा र हारूनसित गनगनाउन लागे। अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्सा बटुलून्। यसरी तिनीहरू मेरा आदेशमा हिँड्छन् कि हिँड्दैनन् सो म जाँच गर्न सकूँला। छैटौँ दिन तिनीहरूले जति बटुल्छन् त्यो तयारी पारिराखून्, र त्यो अरू दिनभन्दा दोबर होस्।” यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?” फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।” तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ’।” अनि इस्राएलका सारा समुदायसित हारून बोल्दा, तिनीहरूले उजाड़-स्थानतिर हेरे। त्यहाँ परमप्रभुको महिमा बादलमा देखियो। परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”
प्रस्थान 16:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूका सारा समुदाय एलीमबाट हिँडे, र सीनैको उजाडस्थानमा आइपुगे। यो एलीम र सीनैको बीचमा थियो। तिनीहरू इजिप्टबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौँ दिन भइसकेको थियो। त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए। इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।” तब याहवेहले मोशालाई भन्नुभयो, “म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ। छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।” यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “याहवेहले नै तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्नेछौ। अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?” मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्वरको विरुद्धमा गनगनाइरहेका छौ।” तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ।’ ” हारून सारा इस्राएली समुदायसित बोल्दैगर्दा तिनीहरूले उजाडस्थानतिर हेरे; अनि त्यहाँ याहवेहको महिमा बादलमा देखा पर्यो। याहवेहले मोशालाई भन्नुभयो, “मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
प्रस्थान 16:1-12 पवित्र बाइबल (NERV)
त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे। इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।” तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।” अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।” तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’” हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे। परमप्रभुले मोशालाई भन्नुभयो, “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”
प्रस्थान 16:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा इस्राएली समुदाय एलीमबाट हिँडे। मिश्र छोडेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा तिनीहरू सीनैको मरुभूमि आइपुगे। सीन एलीम र सीनैको बीचमा छ। त्यो उजाड-स्थानमा ती सबै मोशा र हारूनसित गनगनाउन थाले र यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्तो पूरा खान पाउँथ्यौं। तर तपाईंहरूले हामीलाई त्यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्याउनुभयो र खान नदिई मार्न आँट्नुभयो।” परमप्रभुले मोशालाई भन्नुभयो, “अब म तिमीहरू सबैको लागि आकाशबाट खानेकुरा वर्षाउनेछु। मानिसहरूले दिनहुँ गएर त्यस दिनको लागि पुग्दो खाना बटुल्नुपर्नेछ। यसरी तिनीहरूले मैले भनेका कुरा मान्नेछन् कि छैनन् सो म जाँच्नेछु। छैटौँ दिनमा तिनीहरूले सधैँभन्दा दोब्बर बटुलेर खानेकुरा तयार पारिराखून्।” मोशा र हारूनले इस्राएलीहरूलाई भने, “आज बेलुका तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु नै हुनुहुन्छ भनी बुझ्नेछौ। भोलि बिहान परमप्रभु हाम्रा माझमा आउनुभएको हो भनी बुझाउन एउटा चहकिलो ज्योति तिमीहरूले देख्नेछौ। तिमीहरूको गनगन उहाँले सुन्नुभएको छ। तिमीहरूले उहाँको विरुद्धमा गनगन गर्यौ किनभने हामी त उहाँको आज्ञाअनुसार गर्नेहरू मात्र हौं।” त्यसपछि मोशाले भने, “परमप्रभुले नै तिमीहरूलाई बेलुका मासु र बिहान तिमीहरूले चाहे जति रोटी दिनुहुनेछ किनभने तिमीहरूले उहाँको विरुद्धमा कति गनगन गर्यौ, त्यो उहाँले सुन्नुभएको छ। हाम्रा विरुद्धमा गनगन गर्दा खासमा तिमीहरू परमप्रभुको विरुद्धमा गनगन गरिरहेका हुन्छौ।” मोशाले हारूनलाई भने, “इस्राएलको सारा समुदायलाई आएर परमप्रभुको अघि खडा हुनु भन्नुहोस् किनभने उहाँले तिनीहरूको गनगन सुन्नुभएको छ।” हारून पूरै समुदायसित बोलिरहँदा तिनीहरूले मरुभूमितर्फ आफ्नो मुख फर्काए अनि अचानक परमप्रभुको चहकिलो ज्योति बादलमा देखा पर्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “मैले इस्राएलीहरूको गनगन सुनें, तिनीहरूलाई भन्, बेलुका खानलाई मासु र बिहान चाहे जति रोटी तिनीहरूले पाउनेछन्। तब तिनीहरूले बुझ्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।”