YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 16:1-12

प्रस्थानको पुस्तक 16:1-12 NERV

त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे। इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।” तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।” अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।” तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’” हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे। परमप्रभुले मोशालाई भन्नुभयो, “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”