YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 16:1-12

प्रस्‍थान 16:1-12 सरल नेपाली

सारा इस्राएली समुदाय एलीमबाट हिँडे। मिश्र छोडेको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा तिनीहरू सीनैको मरुभूमि आइपुगे। सीन एलीम र सीनैको बीचमा छ। त्‍यो उजाड-स्‍थानमा ती सबै मोशा र हारूनसित गनगनाउन थाले र यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्‍यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्‍तो पूरा खान पाउँथ्‍यौं। तर तपाईंहरूले हामीलाई त्‍यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्‍याउनुभयो र खान नदिई मार्न आँट्‍नुभयो।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म तिमीहरू सबैको लागि आकाशबाट खानेकुरा वर्षाउनेछु। मानिसहरूले दिनहुँ गएर त्‍यस दिनको लागि पुग्‍दो खाना बटुल्‍नुपर्नेछ। यसरी तिनीहरूले मैले भनेका कुरा मान्‍नेछन् कि छैनन् सो म जाँच्‍नेछु। छैटौँ दिनमा तिनीहरूले सधैँभन्दा दोब्‍बर बटुलेर खानेकुरा तयार पारिराखून्।” मोशा र हारूनले इस्राएलीहरूलाई भने, “आज बेलुका तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु नै हुनुहुन्‍छ भनी बुझ्‍नेछौ। भोलि बिहान परमप्रभु हाम्रा माझमा आउनुभएको हो भनी बुझाउन एउटा चहकिलो ज्‍योति तिमीहरूले देख्‍नेछौ। तिमीहरूको गनगन उहाँले सुन्‍नुभएको छ। तिमीहरूले उहाँको विरुद्धमा गनगन गर्‍यौ किनभने हामी त उहाँको आज्ञाअनुसार गर्नेहरू मात्र हौं।” त्‍यसपछि मोशाले भने, “परमप्रभुले नै तिमीहरूलाई बेलुका मासु र बिहान तिमीहरूले चाहे जति रोटी दिनुहुनेछ किनभने तिमीहरूले उहाँको विरुद्धमा कति गनगन गर्‍यौ, त्‍यो उहाँले सुन्‍नुभएको छ। हाम्रा विरुद्धमा गनगन गर्दा खासमा तिमीहरू परमप्रभुको विरुद्धमा गनगन गरिरहेका हुन्‍छौ।” मोशाले हारूनलाई भने, “इस्राएलको सारा समुदायलाई आएर परमप्रभुको अघि खडा हुनु भन्‍नुहोस्‌ किनभने उहाँले तिनीहरूको गनगन सुन्‍नुभएको छ।” हारून पूरै समुदायसित बोलिरहँदा तिनीहरूले मरुभूमितर्फ आफ्‍नो मुख फर्काए अनि अचानक परमप्रभुको चहकिलो ज्‍योति बादलमा देखा पर्‍यो। परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले इस्राएलीहरूको गनगन सुनें, तिनीहरूलाई भन्, बेलुका खानलाई मासु र बिहान चाहे जति रोटी तिनीहरूले पाउनेछन्। तब तिनीहरूले बुझ्‍नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”

प्रस्‍थान 16 पढ्नुहोस्