YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 16:1-12

प्रस्‍थान 16:1-12 NNRV

इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्‍केको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्‍थानमा आइपुगे। तब सारा समुदाय त्‍यहाँ मोशा र हारूनसित गनगनाउन लागे। अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्‍जेल खाना खान्‍थ्‍यौं। त्‍यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्‍मै समुदायलाई भोकले मार्न उजाड़-स्‍थानमा ल्‍याउनुभएको छ।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्‍ति स्‍वर्गबाट रोटी वर्साउनेछु। मानिसहरूले दिनहुँ बाहिर गएर एक दिनको हिस्‍सा बटुलून्‌। यसरी तिनीहरू मेरा आदेशमा हिँड्‌छन्‌ कि हिँड्‌दैनन्‌ सो म जाँच गर्न सकूँला। छैटौँ दिन तिनीहरूले जति बटुल्‍छन्‌ त्‍यो तयारी पारिराखून्, र त्‍यो अरू दिनभन्‍दा दोबर होस्‌।” यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “बेलुकी तिमीहरूले थाहा पाउनेछौ, कि परमप्रभुले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो। अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?” फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्‍जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।” तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्‍नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ’।” अनि इस्राएलका सारा समुदायसित हारून बोल्‍दा, तिनीहरूले उजाड़-स्‍थानतिर हेरे। त्‍यहाँ परमप्रभुको महिमा बादलमा देखियो। परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिमीहरूले थाहा पाउनेछौ’।”