YouVersion लोगो
खोज आइकन

प्रेरित 21:1-14

प्रेरित 21:1-14 NCV

तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ। त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ। त्यसपछि हामी त्यहाँ बस्‍ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे। जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौँ। एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के। टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ। अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ। तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे। हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए। हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ” जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्‍यौँ। पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।

प्रेरित 21 पढ्नुहोस्

Video for प्रेरित 21:1-14