YouVersion लोगो
खोज आइकन

प्रेरित 21:1-14

प्रेरित 21:1-14 सरल नेपाली

एफिसस मण्डलीको अगुवाहरूसँग बिदा भएपछि हावा राम्ररी चलेकोले हामी पानीजहाजबाट सीधै कोस भन्‍ने टापुमा आइपुग्‍यौं। भोलिपल्‍ट रोडस टापुमा पुग्‍यौं अनि त्‍यहाँबाट पटारा सहरमा आइपुग्‍यौं। त्‍यहाँ हामीले फोनिके इलाकासम्‍म जाने पानीजहाज पायौं र त्‍यसैमा चढेर गयौं। हामी साइप्रस टापुको नजिकै भएर त्‍यसैको दक्षिणतिरबाट सिरिया इलाकातिर लाग्‍यौं। टुरोस सहरमा चाहिँ पानीजहाज मालसमान उर्तानलाई रोकियो। त्‍यसो हुँदा हामी पनि ओर्लियौं अनि त्‍यहाँ बस्‍ने प्रभुका चेलाहरूलाई भेट्‍न गयौं र एक हप्‍तासम्‍म उनीहरूसँगै बस्‍यौं। पवित्र आत्‍माबाट अगुवाइ पाएर उनीहरूले पावललाई यरूशलेम नजान बिन्‍ती गरे। तैपनि एक हप्‍ता जति बसेपछि हामी उनीहरूसँग बिदा भएर हिँड्यौं। त्‍यहाँका प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइ, दिदी-बहिनी र केटा-केटीहरूसमेत हामीहरूलाई सहरबाहिरसम्‍म पुर्‍याउन आए। हामीहरू सबैले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं। त्‍यसपछि हामी बिदाबारी भएर पानीजहाजमा चढ्यौं र उनीहरूचाहिँ आफ्‍नो घरतिर फर्के। टुरोस सहरबाट हामी टोलेमाइस सहरमा पुगेर पानीजहाजबाट ओर्लियौं। हामी त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूलाई भेट्‍न गयौं र एक दिन तिनीहरूसँगै बस्‍यौं। भोलिपल्‍ट त्‍यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्‍यौं। त्‍यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्‍यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्‍ये एक जना थिए। उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्‍ने वरदान थियो। हामी केही दिन फिलिपका परिवारहरूसँग बस्‍दा यहूदिया क्षेत्रबाट अगाबस नाउँ गरेका एक जना अगमवक्ता हामीहरूकहाँ आए। उनले पावलको पटुका लिएर आफ्‍ना हात र खुट्टा बाँधेर भने, “पवित्र आत्‍माले यसरी भन्‍नुहुन्‍छ, यरूशलेम गए भने यहूदीहरूले यो पटुकाको धनीलाई यसै गरी बाँध्‍नेछन् र अरू जातिका हातमा सुम्‍पनेछन्।” यो कुरा सुनेर हामीहरू र त्‍यहाँ भएका मानिस सबैले पावललाई यरूशलेम नजानुहोस् भनेर बिन्‍ती गर्‍यौं। तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्‍न बनाउन खोज्‍दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्‍ति मर्न पनि तयार छु।” पावललाई रोक्‍न नसक्‍दा हामी ‘परमेश्‍वरको इच्‍छा पूरा होस्’ भनेर चुप लाग्‍यौं।

प्रेरित 21 पढ्नुहोस्

Video for प्रेरित 21:1-14