YouVersion लोगो
खोज आइकन

प्रेरित 21

21
यरूशलेमको यात्रा
1तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौं। अर्को दिन हामी रोडस गयौं। अनि त्यहाँबाट पटारा पुग्यौं। 2त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौं, त्यसैमा चढेर अगाडि बढ्यौं। 3साइप्रस टापू देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौं। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौं। 4त्यसपछि हामी त्यहाँ रहने चेलाहरूकहाँ गयौं र तिनीहरूसँग सात दिनसम्म बस्यौं। पवित्र आत्माद्वारा अगुवाइ भएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी विन्ती गरे। 5जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, त्यसपछि हामी आफ्नो बाटो लाग्यौं; तब त्यहाँका सबैजना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई शहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौं। 6एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौं र उनीहरू घर फर्के।
7टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौं, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौं र तिनीहरूसँग एक दिन बस्यौं। 8अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौं र सातमध्ये एकजना प्रचारक फिलिपको घरमा हामी बस्यौं। 9तिनका चारजना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
10हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नाउँका एकजना अगमवक्‍ता आए। 11हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधेर तिनले यसो भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसैगरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
12जब हामीले यी कुराहरू सुन्यौं, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी विन्ती गर्‍यौं। 13अनि पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म ता बाँधिन मात्र होइन, तर प्रभु येशूको नाउँका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” 14तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्‍न गर्न छोड्यौं।
15त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौं। 16हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
यरूशलेममा पावलको आगमन
17जब हामी यरूशलेम आइपुग्यौं, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे। 18भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौं, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए। 19पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
20तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुभयो, यहूदीहरूमध्ये कैयौं हजार विश्‍वासी भएका छन्; र ती सबैजना मोशाका व्यवस्थामा उत्साहित छन्। 21तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू, तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिउनू भन्‍ने शिक्षा दिनुभएको छ। 22अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्, 23यसकारण हामी जे भन्दछौं, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चारजना भाकल गर्ने मानिसहरू छन्। 24यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूका खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्; त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहेनछ, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। 25जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरो छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
26अर्को दिन ती चारजनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफ्नो पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्‍त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्‍ने जानकारी दिन उनी मन्दिरमा गए।
पावल पक्राउ परेका
27जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे, 28अनि चिच्याउँदै भने, “हे इस्राएलका मानिसहरूहो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यो मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।” 29(यो घटनाभन्दा अघि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई शहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्‍ने धारणा तिनीहरूका थियो।)
30सारा शहरभरि हल्‍लाखल्‍ला मच्‍चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे। 31जब तिनीहरूले उनलाई मार्ने प्रयत्‍न गरिरहेका थिए, सम्पूर्ण यरूशलेम शहर अशान्त छ भन्‍ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो। 32तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
33सेनापति त्यहाँ आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुईओटा साङ्लोले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे। 34भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थियो। यसरी खैलाबैला मच्‍चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लगिऊन् भन्‍ने आदेश दिए। 35पावल जब सिँढीमा पुगे, भीडको आतङ्क यति हिंस्रक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो। 36किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
भीडलाई पावलको सम्बोधन
37अनि सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्‍ने अनुमति पाउन सक्छु?”
तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ? 38के तिमी इजिप्ट देशका मानिस होइनौ, जसले केही समयअघि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”
39पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा शहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण शहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
40सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चूप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चूप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:

अहिले सेलेक्ट गरिएको:

प्रेरित 21: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्