YouVersion लोगो
खोज आइकन

लूका 18:31-43

लूका 18:31-43 सरल नेपाली

येशूले बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर भन्‍नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। अगमवक्ताहरूले मानव पुत्रको बारेमा लेखेका सबै कुराहरू अब त्‍यहाँ पूरा हुनेछन्। ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, बेइज्‍जत गर्नेछन्, थुक्‍नेछन्, कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्‍य नै भयो। उहाँले के भन्‍नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्। येशू यरीहो सहरमा पुग्‍न लाग्‍नुहुँदा एक अन्‍धो बाटोको छेउमा बसेर मागिरहेथ्‍यो। धेरै मानिसहरू गइरहेको थाहा पाएर त्‍यस अन्‍धो माग्‍नेले सोध्‍यो, “हैन, के हुँदै छ हँ?” मानिसहरूले उसलाई भने, “नासरतका येशू जाँदै हुनुहुन्‍छ।” यो सुनेर त्‍यो अन्‍धाले चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” अघिअघि जानेहरूले उसलाई चुप लाग् भनेर हकारे। तर उसले झन् साह्रो गरी चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” हिँड्दाहिँड्दै टक्‍क अडिएर येशूले ‘उसलाई यहाँ ल्‍याओ’ भन्‍नुभयो। त्‍यो अन्‍धो माग्‍ने आयो र येशूले सोध्‍नुभयो, “तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्‍न पाऊँ!” अन्‍धाले बिन्‍ती चढायो। येशूले भन्‍नुभयो, “तिम्रो विश्‍वासले गर्दा अब तिमी आँखा देख्‍ने भयौ।” त्‍यति नै खेर ऊ आँखा देख्‍नेभयो र परमेश्‍वरको गुण गाउँदै येशूको पछि लाग्‍यो। यो देखेर अरू मानिसहरूले पनि परमेश्‍वरको महिमा गरे।

लूका 18 पढ्नुहोस्