BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

Dag 14 av 20

येशू यहूदीहरू र सारा संसारको मसीही राजा हुनुहुन्छ भनेर घोषणा गरेकोमा पावललाई कसरी निरन्तर कुटपिट गरियो, झ्यालखानामा हालियो वा घिस्याएर शरहरूबाट बाहिर समेत निकालियो, त्यसबारे लूकाले हामीलाई बताउँछन्‌। पावल कोरिन्थमा आइपुग्दा आफू फेरि सताइनेछु भनेर उनी अपेक्षा गर्छन्। तर येशूले पावललाई सान्त्वना दिनुहुन्छ र राती दर्शनमा उनीकहाँ यसो भन्दै देखा पर्नुहुन्छ, “नडराऊ, बोल्ने कामलाई जारी राख अनि चुप नबस। म तिमीसँग छु। कसैले पनि तिमीलाई आक्रमण गर्ने र हानी गर्नेछैन, किनभने यो शहरमा मेरा मानिसहरू धेरै छन्।” अनि साँच्‍चै, धर्मशास्‍त्रका पुस्तकहरूबाट शिक्षा दिँदै र येशूको बारेमा बताउँदै पावल त्यस शहरमा साढे एक वर्षसम्म बस्न सक्छन्। र मानिसहरूले पावललाई आक्रमण गर्ने प्रयास गर्दा येशूले भन्‍नु भएजस्तै तिनीहरू सफल हुँदैनन्। वास्तवमा, पावललाई हानी गर्न प्रयास गर्ने अगुवा आफै आक्रमणमा पर्छ। पावल कोरिन्थबाट लखेटिँदैनन् तर उचित समय आएपछि कैसरिया, एन्टिओक, गलातिया, फ्रिगिया र एफिससमा बसोबास गर्दै आएका चेलाहरूलाई दह्रिलो पार्न उनी नयाँ साथीहरूसँग त्यस शहरबाट जान्छन्।

एफिससमा पावलले येशूका नयाँ अनुयायीहरूलाई पवित्र आत्माको वरदानबारे अवगत गराउँछन् अनि एसियामा बसोबास गर्ने सबैलाई येशूको सुसमाचार सुनाउँदै केही वर्षसम्म शिक्षा दिन्छन्। धेरै मानिसहरू आश्‍चर्यजनक ढङ्गले निको र स्वतन्त्र हुने क्रममा सेवकाइ फस्टाइरहेको हुन्छ, मानिसहरू मन्त्र-तन्त्रबाट फर्किँदा र मूर्तिहरूलाई त्याग्दा शहरको आर्थिक स्थितिमा निकै परिवर्तन आउँछ। मूर्तिपूजाबाट फाइदा कमाउने स्थानीय व्यापारीहरू रिसाउँछन् र तिनीहरूका देवीको रक्षा गर्न अनि पावलका सहयात्रीहरू विरुद्ध युद्ध गर्न मानिसहरूलाई उक्साउन थाल्छन्। शहर अन्योलग्रस्त बन्छ र शहरको हाकिमले मुख नखोलेसम्म दङ्गा जारी रहन्छ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

•प्रेरित १८:९-१०मा येशूले पावललाई भन्नुभएको वचनहरूलाई मत्ती २८:१९-२०मा दिइएको येशूका वचनहरूसँग तुलना गर्नुहोस्। तपाईं के याद गर्नुहुन्छ? परमेश्‍वरले यशैया ४१:१०मा आफ्‍नो अगमवक्ताद्वारा इस्राएललाई दिनुभएका वचनहरू पनि हेर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो? ? येशूका वचनहरूले आज तपाईंलाई कसरी प्रोत्साहन वा चुनौती दिन्छन्?

• ९-१०मा येशूले पावललाई दिनुभएका वचनहरूबारे विचार गर्दा, सहरमा येशूका मानिसहरू धेरै छन् भन्‍नुको अर्थ के हो भन्‍ने तपाईंलाई लाग्छ? के तपाईं आफ्नो सहरमा येशूका मानिसहरूमध्ये एक हुनुहुन्छ?

•रोमीहरूले आफ्ना देवी-देवताहरूले तिनीहरूको सहरलाई सुरक्षित र सम्‍पन्‍न राख्‍न सक्छन् भन्‍ने विश्‍वास गर्थे, त्यसकारण तिनीहरूले धेरै मूर्तिहरूको पूजा गर्थे। सुरक्षा वा सहजताको लागि येशूबाहेक अरू कुनै कुरा वा कसैमाथि भरोसा गर्ने जुनसुकै कुरा मूर्ति हुनसक्छ। तपाईंको सहरका केही मूर्तिहरू के हुन्? यदि तपाईंको सहरका धेरै मानिसले येशूलाई आराधना गर्न यी कुराहरू त्यागे भने, यसले अर्थतन्त्रमा कसरी प्रभाव पार्नेथियो?

• तपाईंका मननले प्रार्थना गर्ने प्रेरणा दिऊन्। येशूप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। तपाईंलाई कहाँ आश्वासन चाहिन्छ र उहाँको शक्तिशाली सन्देशले तपाईंको सहरलाई कसरी नवीकरण गरेको तपाईं हेर्न चाहनुहुन्छ, सो उहाँलाई बताउनुहोस्। तपाईं आज नै उहाँका योजनाहरूमा सहभागी हुन सक्‍ने साहसको लागि उहाँसँग प्रार्थना गर्नुहोस्।

Dag 13Dag 15

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More