BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितPrøve
यरूशलेमको यात्रा गर्ने क्रममा पावलले येशूका अनुयायीहरूको बढ्दो समुदायसँग भेट गर्न बाटोमा रोकिन्छन्। तिनीहरू सबैले राजधानी शहरमा प्रवेश गर्ने उनको अभिप्रायबारे थाहा पाउँछन् र त्यस विरुद्ध तुरुन्तै तर्क गर्छन्। उनी गए भने कैद गरिनेछन् वा मारिनेछन् भन्ने कुरामा निश्चित भएर तिनीहरू उनलाई नजान बिन्ती गर्छन्। तर आफूले विश्वास गरेको कुरामा पावल मर्न पनि तयार हुन्छन्, त्यसकारण उनी रोकिँदैनन्। उनी यरूशलेम आइपुग्दा उनले आफू यहूदी विरोधी होइन भन्ने अरूलाई देखाउन यहूदी परम्पराहरू पालन गर्छन्। वास्तवमा उनी आफ्नो पिता पुर्खाका परमेश्वरलाई प्रेम गर्ने र आफ्नो सङ्गी यहूदीको लागि आफ्नो ज्यान समेत दिन तयार हुने एक भक्त यहूदी हुन्। तर यहूदीहरूले गैर-यहूदीहरूसँगको पावलको निन्दनीय सम्बन्धलाई मात्रै देख्छन्। तिनीहरूले पावलको सन्देश इन्कार गर्छन्, उनलाई मन्दिरबाट लखेट्छन् र मरणासन्न हुने गरी पिट्न थाल्छन्।
यरूशलेमको अवस्था नियन्त्रणभन्दा बाहिर छ भन्ने कुरा सुनेपछि रोमीहरू पावलको ज्यान बचाउन समयमै आइपुग्छन्। पावललाई हिंस्रक भीडबाट बाहिर लगिन्छ र उनले आफूलाई सताउनेहरूलाई सम्बोधन गर्न मौका दिलाउन हाकिमलाई विश्वस्त पार्छन्। चोटैचोट र रगताम्मे अवस्थामै पावलले खडा भएर साहसका साथ आफ्नो कथा सुनाउँछन्। आफ्नो ज्यान लिन खोज्ने मानिसहरूलाई विश्वस्त तुल्याउन र आफ्नो परिचय दिन उनले तिनीहरूसित हिब्रू भाषामा बोल्छन्। परमेश्वरको छुटकारा योजनामा अन्यजातिहरू (गैर-यहूदीहरू) लाई समावेश गर्ने परमेश्वरको इच्छाबारे उनले नबोलुञ्जेलसम्म तिनीहरूले उनको हरेक कुरा सुन्छन्। यो कुरा उठ्ने बित्तिकै, भीडले पावललाई मार्ने धम्की दिन थाल्छन्। स्थिति कोलाहलपूर्ण हुन्छ र पावलले अन्यजातिबारे कुरा गर्दा यहूदीहरू किन त्यति क्रोधित भए भनेर रोमी सेनापतिले बुझ्न सक्दैनन्। त्यसकारण सेनापतिले यसभित्र थप कथा लुकेको हुनुपर्छ र थप यातना दिए तिनले यो कुरा बताउन सक्छन् भन्ने विचार गर्छन्। तर आफू एक रोमी नागरिक भएको कुरा प्रकट गर्दै आफू विरुद्धको गैरकानुनी व्यवहारलाई पावलले रोक्छन्। सेनापतिले एक रोमी नागरिकलाई हानि गरेमा आफू समस्यामा पर्न सकिन्छ भन्ने महसुस गर्छन्। त्यसकारण पावललाई तुरुन्तै हिरासतबाट मुक्त गरिन्छ र उनलाई सुनुवाइमा लगिन्छ जहाँ उनले आफूलाई दोष लगाउने धार्मिक अगुवाहरूका सामने आफ्नो मुद्दा लड्न सक्छन्।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• क्रोधित यहूदी भीडको अघि पावलले गरेको प्रतिरक्षालाई पुनरावलोकन गर्नुहोस् (प्रेरित २२:१-२१ हेर्नुहोस्)। तपाईं के याद गर्नुहुन्छ? आफूलाई सताउनेहरूसँग पावलले आफूलाई कसरी चिनाउँछन्? तपाईं आफ्ना शत्रुहरूसँग आफूलाई कसरी चिनाउन सक्नुहुन्छ?
• पावल, येशूलाई पछ्याएको कारण मानिसहरूलाई सताउने व्यक्तिबाट मानिसहरूलाई येशूको पछि लाग्न मनाउने व्यक्तिमा परिवर्तन भए। के तपाईंले त्यस्तो आमूल परिवर्तन भएको व्यक्तिलाई कहिल्यै भेट्नुभएको छ? छ भने, तपाईंले आज कसलाई त्यो छुटकाराको कथा बताउन सक्नुहुन्छ?
• आफ्नो पढाइ र मननलाई प्रार्थनामा परिवर्तन गर्नुहोस्। सबै मानिसहरूलाई सुसमाचार सुनाउने येशूको सङ्कल्पको लागि उहाँलाई कृतज्ञता व्यक्त गर्नुहोस्। तपाईंसँग गलत व्यवहार गर्ने मानिसहरूसँग आफूलाई चिनाएर नम्र हुनुहोस् र तपाईंका शत्रुहरूको हृदय र मनमा आमूल परिवर्तन गराउन परमेश्वरलाई अनुरोध गर्नुहोस्।
Om denne planen
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More