BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample
पावल कैसरियामा आइपुग्दा उनलाई हाकिम फेलिक्सको अघि पुर्पक्षमा राखिन्छ। आफूले इस्राएलको परमेश्वरमा विश्वास गर्ने र उनलाई आरोप लगाउनेहरूले जस्तै पुनरुत्थानको आशा गर्ने प्रमाण दिँदै पावल आफ्नो मुद्दाको बयान प्रस्तुत गर्छन्। पावललाई दोषी ठहराउने कुनै कारण फेलिक्सले देख्दैनन् तर पावललाई के गर्ने फेलिक्सलाई थाहा हुँदैन। त्यसकारण कुनै कानुनी कारणबिना उनलाई दुई वर्ष हिरासतमा राख्छन्। पावलको हिरासतको समयभरि फेलिक्सकी पत्नीले पावल र येशूको कुरा सुन्ने अनुरोध गर्छिन्। फेलिक्स पनि उनको कुरा सुन्न आउँछन् र येशूको राज्यका अर्थ सुनेर भयभीत हुन्छन्। उनी बहस गर्न चाहँदैनन् तर पावलबाट घुस पाउने आशा गर्दै पावललाई नियमित रूपमा बोलाउँछन्। अन्त्यमा फेलिक्सको सट्टा पोर्सियस फेस्तस आउँछन् र अझै पनि उनलाई मार्न खोज्ने यहूदीहरूका सामने पावलको मुद्दाको सुनुवाइ हुन्छ। पावलले आफू निर्दोष भएको अपिल गर्छन् र प्रत्युत्तरमा उनी सुनुवाइको लागि यरूशलेम जान तयार छन् कि भनी फेस्तसले सोध्छन्। तर पावल मान्दैनन् र रोममा कैसरको सामने सुनुवाइ गरियोस् भनी अपिल गर्छन्। फेस्तसले उनको अनुरोध स्वीकार्छन्। येशूले भन्नु भएजस्तै (प्रेरित २३:११), पावलले येशूको अभियानलाई रोममा पुर्याउनेछन्।
पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:
• फेलिक्सको सामने (२४:१०-२१ हेर्नुहोस्) र फेस्तसको सामने (२५:८-११ हेर्नुहोस्) पावलले गरेको प्रतिरक्षालाई पुनरावलोकन गर्नुहोस्। तपाईंले के अवलोकन गर्नुभयो? ? तपाईंलाई कुन शब्द वा वाक्य उल्लेखनीय लाग्छ?
• पावलले धार्मिकता, अनुशासन र आउने न्यायबारे बोले (२४:२५) । पावलका कुरा सुन्ने कतिपय मानिस सचेत हुन्छन् र परमेश्वरकहाँ फर्कन्छन् तर अरूचाहिँ डराउँछन् र त्यसबारे कुरा गर्न समेत मान्दैनन्। तपाईंचाहिँ के गर्नुहुन्छ?
• तपाईंका मननलाई हार्दिक प्रार्थनामा बदल्नुहोस्। आफ्नो डरबारे परमेश्वरसँग कुरा गर्नुहोस् र येशूको सन्देशबारे जान्न र त्यसलाई व्यवहारमा उतार्न उहाँसँग नयाँ साहस माग्नुहोस्।
धर्मशास्त्र
यस योजनाको बारेमा
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्नहरूलाई समावेश गरेको छ।
More
https://bibleproject.com/nepali