YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 15 को 20

एफिससको कोलाहल समाप्त भएपछि, पावल वार्षिक पेन्तिकोसको चाडको लागि समयमै यरूशलेमतिर लाग्छन्। यात्राको दौरानमा उनले सुसमाचार प्रचार गर्न र येशूका अनुयायीहरूलाई प्रोत्साहन दिन धेरै शरहरूको यात्रा गर्छन्। यसमा, हामी पावल र येशूको सेवकाईको बीच समानता देख्छौं। येशू वार्षिक यहूदी चाड (निस्तार चाड) को लागि समयमै यरूशलेम प्रस्थान गर्नुभयो र यात्राको दौरानमा आफ्नो राज्यबारे सुसमाचार प्रचार गर्नुभयो। अनि जसरी आफूलाई क्रूसले पर्खिरहेको छ भन्‍ने येशूलाई थाहा थियो, त्यसरी नै राजधानी शहरमा आफूलाई दुःख र कष्टले पर्खिरहेको छ भन्‍ने पावललाई पनि थाहा छ। त्यसकारण यस कुरालाई ध्यानमा राखी उनले बिदाइ हुन भेटघाटको योजना बनाउँछन्। उनले एफिससका पास्टरहरूलाई नजिकैको शहरमा भेट्न बोलाउँछन्, जहाँ उनले तिनीहरूलाई आफू गएपछि सबै कुरा अझ कठिन हुने चेतावनी दिन्छन्। तिनीहरूले खाँचोमा परेकाहरूलाई उदारताको साथ सहायता गर्न र आफ्ना मण्डलीहरूलाई तत्परताको साथ सुरक्षित गर्न र रेखदेख गर्न होसियार हुनुपर्छ भनेर उनले तिनीहरूलाई बताउँछन्। पावललाई बिदा गर्नु पर्दा सबैको मन खिन्न हुन्छ। तिनीहरू रुन्छन्, उनलाई अङ्गालो हाल्छन् र चुम्बन गर्छन् र उनी पानी जहाजमा नचढेसम्म उनको साथ छोड्न मान्दैनन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• प्रेरित २०:२३मा दिइएको पावलका वचनहरूलाई पावलले पहिलो पटक बौरी उठ्नुभएका प्रभुलाई भेटेको बेला पवित्र आत्माले हननियासँग बोलेको वचनसित तुलना गर्नुहोस् (हेर्नुहोस् प्रेरित ९:१५-१६)। यी दुई परिच्छेदहरूलाई तुलना गर्दा र तिनीहरूको भिन्‍नता छुट्टाउँदा तपाईंले के-कस्ता प्रश्‍न, अन्तर्दृष्टि वा निष्कर्ष निकाल्‍नुहुन्छ?

• पावलले विदाइमा बोलेका शब्‍दहरू पढ्नुहोस् (हेर्नुहोस्, २०:१८-३५) । तपाईंले के अवलोकन गर्नुभयो? प्रारम्भिक मण्डलीका अगुवाहरूलाई उनी कसरी प्रोत्साहन, चेतावनी र निर्देशन दिन्छन्। यदि अगुवाहरूले पावलले निर्देशन दिए जस्तै अगुवाइ गरेको भए के हुनेथियो भन्‍ने तपाईंलाई लाग्छ? आज तपाईं पावलका निर्देशनहरूलाई कसरी व्यवहारिक रूपमा लिन सक्नुहुन्छ?

• येशूले यरूशलेमको यात्रा शुरु गर्नुहुँदा त्यहाँ उनलाई पर्खिरहेका कष्टबारे चेलाहरूले बुझेनन् र उहाँका दु: ख-पीडा प्रकट हुँदा तिनीहरू टाढिए। तर पावलले राजधानी सहरको यात्रा शुरु गर्दा अब के हुन लागेको छ भन्‍ने कुरा सबैलाई थाहा थियो र उनलाई पूर्ण हृदयले सहायता गरे। चेलाहरूको स्‍नेह र सहयोगद्वारा पावल कसरी प्रभावित भए भन्‍ने तपाईंलाई लाग्छ? तपाईं आज कसलाई सहायता गर्न सक्‍नुहुन्छ?

• तपाईंको पढाइ र मननले प्रार्थना गर्ने प्रेरणा देओस्। यरूशलेम गएर तपाईंको खातिर कष्ट भोग्‍नुभएकोमा येशूप्रति आफ्‍नो कृतज्ञता व्यक्त गर्नुहोस्। उहाँको आत्म-बलिदानी मार्गहरूमा उहाँसँग सहभागी हुनका लागि आफ्‍नो लागि र तपाईंको सहरका अगुवाहरूको लागि प्रार्थना गर्नुहोस्। यो हप्ता तपाईं आफ्नो समुदायलाई तपाईं कसरी व्यवहारिक रूपमा उहाँको अनुग्रह र सहायता बाँड्न सक्‍नुहुन्छ, त्यसबारे आइडिया माग्नुहोस्‌। तपाईंको मनमा आउने आइडियाहरूलाई लेख्नुहोस् र यसलाई व्यवहारमा उतार्नुहोस्‌।

Day 14Day 16

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali