YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरितSample

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

दिन 12 को 20

रोमी साम्राज्यभरि पावलले गरेको प्रचार-यात्राबारे लूकाले हामीलाई निरन्तर बताउँछन्‌। यात्रा गर्ने क्रममा, उनले साहसको साथ येशूको राज्यको सुसमाचार बाँड्छन्‌ र धेरैले पावलको सन्देशलाई तिनीहरूको रोमी जीवनशैलीप्रति चुनौतीको रूपमा लिन्छन्। तर त्यस्ता मानिसहरू पनि हुन्छन् जसले अन्तत: पावलको सन्देशलाई जीवनको पूर्ण नयाँ मार्गमा लैजाने सुसमाचार हो भनेर मानिलिन्छन्‌‌। उदाहरणको लागि, लूकाले हामीलाई फिलिप्‍पीको झ्यालखानाको हाकिमबारे बताउँछन्। पावल र सिलासलाई अन्यायी ढङ्गले झ्यालखानामा हालिएको कथालाई पहिल्याउँदै जाँदा हामी उनलाई भेट्छौं।

शहरमा व्यापक अन्योलता निम्त्याएको आरोप लगाएपछि, पावल र उनका सहकर्मी सिलासलाई अन्यायी ढङ्गले कुटपिट गरेर झ्यालखानामा हालिन्छ। घाउचोट र रक्ताम्मे शरीर लिएर कोठरीमा अनिदो बसिरहेका बेला तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँको भजन गाउन थाल्छन्। तिनीहरूले गाइरहेको आराधना गीत कैदीहरूले सुनिरहेको बेला ठूलो भूकम्प आउँछ र भयानक रूपमा झ्यालखानाका जगहरू हल्लिन्छ। कैदीको साङ्लाहरू चुँडिन्छन् र अचानक झ्यालखानाका सबै ढोकाहरू खुल्छन्। झ्यालखानाका हाकिमले यो देख्छन्‌ र कैदीहरूलाई उम्कन दिएकोमा उनलाई मृत्युदण्ड हुनेछ भन्‍ने थाहा हुन्छ, त्यसकारण जीवनप्रति हरेस खाएर उनले आत्महत्या गर्न आफ्‍नो तरवार निकाल्छन्। तर उनको ज्यान बचाउन ठीक समयमा पावलले उनलाई रोक्छन्। यसले गर्दा, कठोर मन भएको हाकिमको मन कोमल हुन्छ अनि तिनी पावल र सिलासको अघि घोप्टो पर्छन्। आफ्नो जीवन पनि अनन्तको लागि बचाइनुपर्छ भन्‍ने कुरा उनले थाहा पाउँछन् र त्यो मार्गबारे जान्न चाहन्छन्। पावल र सिलास तिनलाई सुसमाचार सुनाउन उत्सुक हुन्छन्‌ र त्यही दिन झ्यालखानाका हाकिम र उनको सारा घरानाले येशूलाई पछ्याउन थाल्छन्।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्:

• झ्यालखानाका ढोकाहरू खुला थिए। पावल र सिलास भागेर जान सक्थे र झ्यालखानाका हाकिममाथि यसको परिणाम आउन दिन सक्थे तर तिनीहरूले त्यसो गरेनन्। आफूहरूलाई त्यो झ्यालखानामा हाल्ने त्यही मानिसलाई बचाउन तिनीहरू आफ्ना कोठरीभित्र नै बसिरहे। तिनीहरूको चरित्र अनि येशूको राज्यबारे प्रचार गर्ने तिनीहरूको अभियानको साँचो उद्देश्यबारे त्यसले तपाईंलाई के बताउँछ?

• पावल र सिलासले झ्यालखानाका हाकिमलाई दिएको अनुग्रही प्रतिक्रियाले गर्दा उनको जीवनमा कसरी आमूल परिवर्तन आयो, त्यसबारे मनन गर्नुहोस् (१६:२८-३४ हेर्नुहोस्) । आज कसलाई तपाईंको अनुग्रही प्रतिक्रियाको खाँचो छ?

• के तपाईं जीवनदेखि हरेस खाइ रहनुभएको छ? आफैलाई हानि नगर्नुहोस्; येशू यहाँ तपाईंको लागि हुनुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। आजै उहाँमा भरोसा गर्नुहोस्। तपाईंले कस्तो महसुस् गरिरहनुभएको छ सो उहाँलाई बताउनुहोस्, तपाईंलाई के कुराको खाँचो छ उहाँलाई माग्नुहोस्, अनि तपाईंलाई जीवनको पूर्ण नयाँ मार्गमा डोऱ्याउन उहाँलाई अनुरोध गर्नुहोस्। उहाँले तपाईंको कुरा सुन्नुहुन्छ।

धर्मशास्त्र

Day 11Day 13

यस योजनाको बारेमा

BibleProject | उल्टो प्रकारको राज्य / भाग २ - प्रेरित

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई प्रेरितको पुस्तक २० दिनमा पढी सिध्याउन उत्प्रेरित गर्ने उद्देश्यले उल्टो प्रकारको राज्य भाग-२ डिजाइन गऱ्यो। यस योजनाले सहभागीहरूलाई येशूसँग नजिक रहेको अनुभव गर्न साथै लेखकको उत्कृष्ट साहित्यिक रचना र विचार प्रवाहमा संलग्न गराउन सहायता गर्ने उद्देश्यले एनिमेट गरिएका भिडियोहरू, अन्तर्दृष्टिपूर्ण सारांशहरू र विचारणीय प्रश्‍नहरूलाई समावेश गरेको छ।

More

https://bibleproject.com/nepali