मत्ती 11:16-30
मत्ती 11:16-30 पवित्र बाइबल (NERV)
“आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्, ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दु:खका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’ मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।” येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ। “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।” त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो। “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्। “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
मत्ती 11:16-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्, ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्यौं, तर तिमीहरूले अफसोस गरेनौ।’ किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।” जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
मत्ती 11:16-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्ने केटाकेटीहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’ किनकि यूहन्ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।” त्यसपछि येशूले ती सहरहरूलाई धिक्कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्चात्ताप गरेनन्। “धिक्कार तँलाई हे खोराजिन! धिक्कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्चात्ताप गर्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।” त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन। “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”
मत्ती 11:16-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्ता छन्– ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ “दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्वरको बुद्धिलाई त्यसका फलले नै ठीक ठहराउँछ।” जुन सहरहरूमा येशूले धेरै अचम्मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्नुभयो– “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्यहाँका मानिसहरूले अघि नै पश्चात्ताप गरेर पापलाई छोड्नेथिए अनि पश्चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्नेथिए। म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ। “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्तै अचम्मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्म पनि रहिरहने थियो। म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्ड सहन सक्नेहुनेछ।” त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो। “मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्दछन्। “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्छु। मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्नो आत्मामा आराम पाउनेछौ। हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”