YouVersion लोगो
खोज आइकन

मत्ती 11:16-30

मत्ती 11:16-30 NCV

“यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’ किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।” त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्। “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।” त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन। “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

मत्ती 11 पढ्नुहोस्