मत्ती 11
11
येशू र बप्तिस्मा-दिने यूहन्ना
लूका ७:१८-३५
1आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।
2यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए, 3“आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?”
4येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, 5अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। #यशै ३५:५-६; ६१:१ 6धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।”
7अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीड़लाई भन्न लाग्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? 8तब तिमीहरू किन निस्क्यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्। 9तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई। 10यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, #मला ३:१
‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु,
जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’
11 साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो। 12बप्तिस्मा-दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन्। #लूक १६:१६ 13किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे। 14तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्। #मला ४:५; मत्ती १७:१०-१३; मर्क ९:११-१३ 15जसको सुन्ने कान छ, त्यसले सुनोस्।
16 “अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्,
17 ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं,
तर तिमीहरू नाचेनौ।
हामीहरूले विलाप गर्यौं,
तर तिमीहरूले अफसोस गरेनौ।’
18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। 19मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।”
पश्चात्ताप नगर्ने सहरहरू
लूका १०:१३-१५
20जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। 21“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। #यशै २३:१-१८; इज २६:१-२१; योए ३:४-८; आमो १:९-१०; जक ९:२-४ 22तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। 23ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। #यशै १४:१३-१५; उत १९:२४-२८ 24तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” #मत्ती १०:१५; लूक १०:१२
थकितहरूलाई विश्राम
लूका १०:२१-२२
25त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। 26हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो।
27 “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। #यूह ३:३५; १:१८; १०:१५
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। 29मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। #यर ६:१६ 30किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
अहिले सेलेक्ट गरिएको:
मत्ती 11: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012