YouVersion लोगो
खोज आइकन

मत्ती 11:16-30

मत्ती 11:16-30 सरल नेपाली

“हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्‍ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्‍ता छन्– ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ “दाखमद्य नखाने र उपवास बस्‍ने यूहन्‍ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ। अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्‍वरको बुद्धिलाई त्‍यसका फलले नै ठीक ठहराउँछ।” जुन सहरहरूमा येशूले धेरै अचम्‍मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्‍ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्‍यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्‍नुभयो– “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्‍कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्‍मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्‍यहाँका मानिसहरूले अघि नै पश्‍चात्ताप गरेर पापलाई छोड्‍नेथिए अनि पश्‍चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्‍नेथिए। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्‍वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ। “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्‍वर्ग पुगौंला भन्‍छौ? तिमीहरू त नरकमै पुग्‍नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्‍तै अचम्‍मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्‍म पनि रहिरहने थियो। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्‍ड सहन सक्‍नेहुनेछ।” त्‍यतिखेर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्‍यो। “मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्‍दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्‍दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्‍दछन्। “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्‍छु। मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्‍नो आत्‍मामा आराम पाउनेछौ। हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”

मत्ती 11 पढ्नुहोस्