“अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्,
‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं,
तर तिमीहरू नाचेनौ।
हामीहरूले विलाप गर्यौं,
तर तिमीहरूले अफसोस गरेनौ।’
किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।”
जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।”
त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो।
“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ।
“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”