YouVersion लोगो
खोज आइकन

रोमी 2:17-29

रोमी 2:17-29 NCV

अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्‍वरसँगको सम्बन्धमा गर्व गर्दछौ। तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ। दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ। तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ? तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ? तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ? धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूको बीचमा परमेश्‍वरको नामको निन्दा भएको छ।” यदि व्यवस्थाको पालन गर्‍यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्‍लङ्घन गर्‍यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र? तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्। बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।

रोमी 2 पढ्नुहोस्