रोमी 2
2
परमेश्वरको धार्मिक न्याय
1यसकारण ए मानिस तिमी, जो अरूलाई दोष लगाउँछौ, तिमीहरूलाई केही बहाना छैन; किनकि जसरी तिमी अरूको न्याय गर्दछौ, त्यसरी नै आफूलाई पनि दोषी तुल्याइरहेका छौ; किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमीले पनि त्यही काम गरिरहेका हुन्छौ। 2हामी जान्दछौं कि, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। 3यसकारण ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने, के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? 4अथवा परमेश्वरको दयाले तिमीहरूलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
5तर तिमीहरूका आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। 6परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”#2:6 भजन 62:12; हितो 24:12 7परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। 8तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछन्। 9दुष्ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्ट आइपर्नेछन्: पहिले यहूदीहरूमाथि, त्यसपछि गैरयहूदीहरू माथि; 10तर जसले काम असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीहरूलाई, अनि गैरयहूदीहरूलाई। 11किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
12यद्यपि गैरयहूदीहरूसँग परमेश्वरको लिखित व्यवस्था कहिल्यै थिएन, जब उनीहरू पाप गर्छन्, उनीहरू नष्ट हुनेछन्; र यहूदीहरू, जससँग परमेश्वरको व्यवस्था छ, जब उनीहरू यसको पालना गर्न असफल हुन्छन्, यही व्यवस्थाद्वारा उनीहरूको न्याय गरिनेछ। 13किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्। 14वास्तवमा गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए पनि तिनीहरू आफै व्यवस्था हुन्छन्। 15परमेश्वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको तिनीहरू देखाउँछन्; किनकि तिनीहरूका आफ्नै विवेक र विचारले कि ता तिनीहरूलाई दोष्याउँछन्, कि ता तिनीहरूले गरेका काम सही छन् भनेर भन्छन्। 16अनि यी कुराहरू त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।
यहूदीहरू र व्यवस्था
17अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्वरसँगको सम्बन्धमा गर्व गर्दछौ, 18तिमीहरू उहाँको इच्छा जान्दछौ, उत्तम कुरा के हो तिमीहरूलाई थाहा छ; किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ। 19-20तिमीमा दृष्टिविहीनलाई बाटो देखाउनसक्छु भन्ने निश्चयता छ, अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ, आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक सम्झन्छौ; किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ। 21तिमीहरू, जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्न भनी प्रचार गर्छौ, तिमी आफूचाहिँ चोरी गर्छौ? 22तिमी व्यभिचार नगर्नू भनी भन्छौ, आफैचाहिँ व्यभिचार गर्छौ त? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी मन्दिरहरू लुट्छौ त? 23तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उलङ्घन गरेर परमेश्वरको अनादर गर्छौ? 24धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूबीच परमेश्वरको नाउँको निन्दा भएको छ।”#2:24 यशै 52:5इज 36:20, 22
25यदि व्यवस्थाको पालन गर्यौ भने खतनाको महत्त्व रहन्छ, तर व्यवस्थाको उलङ्घन गर्यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। 26खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र? 27तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीहरूलाई दोषी ठहराउँछन्।
28बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न ता बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। 29बरु साँचो यहूदी ऊचाहिँ हो, जो भित्रबाटै यहूदी हो; अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
अहिले सेलेक्ट गरिएको:
रोमी 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.