YouVersion लोगो
खोज आइकन

रोमी 1

1
1म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनालाई बोलाइएको र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको, 2जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्‍ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। 3यो सुसमाचार उहाँको पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दाविदको वंशबाट जन्मनुभएको थियो, 4अनि उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनर्जीवित भएर पवित्र आत्माको शक्‍तिद्वारा परमेश्‍वरका पुत्रको रूपमा नियुक्‍त हुनुभयो। 5उहाँका नाउँको महिमाको लागि विश्‍वासबाट आउने आज्ञाकारीताको निम्ति सबै मानव जातिहरूलाई सुसमाचार सुनाउन, उहाँद्वारा हामीले अनुग्रह र प्रेरितीय काम पाएका छौं। 6अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनालाई बोलाइएका मध्येका हौ।
7रोममा भएका सबैलाई, जो परमेश्‍वरका प्रिय र पवित्र जन हुनालाई बोलाइएका छन्:
हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टमा तिमीहरूलाई अनुग्रह र शान्ति!
रोममा जानलाई पावलको उत्कट इच्छा
8सर्वप्रथम, म तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद चढाउँछु; किनकि तिमीहरूको विश्‍वास सारा संसारमा प्रसिद्ध भइरहेको छ। 9परमेश्‍वर, जसको सेवा उहाँको पुत्रको सुसमाचार प्रचारमा म सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ, कि कसरी म निरन्तर तिमीहरूलाई प्रार्थनामा याद गर्दछु। 10मेरा हर समयको प्रार्थनामा र अहिले पनि म प्रार्थना गर्दछु, कि अन्त्यमा परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनलाई मेरो निम्ति बाटो खोलिएको होस्।
11म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ। 12तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौं। 13दाजुभाइ-दिदीबहिनीहरूहो#1:13 दाजुभाइ-दिदीबहिनीहरू मूल भाषामा (अडेलफोइ) यस पदमा यो शब्दले विश्‍वासीहरूलाई: चाहे स्त्रीहरू होऊन् वा पुरुषहरू, परमेश्‍वरका परिवारको हिस्सा भन्‍ने जनाउँदछ; यी पदहरूमा पनि 7:1, 4; 8:12, 29; 10:1; 11:25; 12:1; 15:14, 30; 16:14, 17।, म तिमीहरू अजान रहो भन्‍ने चाहन्‍नँ। अरू मानव जातिहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैं तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।
14म सभ्य तथा असभ्य,#1:14 मूल भाषामा ग्रीक र बारबरियन शिक्षित तथा अशिक्षित दुवैको ऋणी छु। 15यसैकारण तिमीहरू रोममा भएकाहरूलाई पनि सुसमाचार प्रचार गर्नलाई म उत्सुक छु।
16किनकि म सुसमाचारसँग लजाउँदिनँ; किनभने यो परमेश्‍वरको शक्‍ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्‍ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई। 17किनकि सुसमाचारमा परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्‍वासद्वारा आउँछ, धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”#1:17 हब 2:4
पापी मानवजाति विरुद्ध परमेश्‍वरको क्रोध
18स्वर्गबाट परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्‍तिहीनता तथा दुष्‍टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्‍टताद्वारा दबाइराखेका छन्। 19परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अघि प्रष्‍ट छ, किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ। 20किनकि परमेश्‍वरका अदृश्य गुणहरू, उहाँका अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएका छन्; र बनाइएका थोकहरूबाट बुझ्न सकिन्छ। यसैले मानिसहरूलाई परमेश्‍वरको विषयमा जान्‍न नसकिने कुनै पनि बहाना छैन।
21तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि उहाँलाई परमेश्‍वरको रूपमा न महिमा दिए, न ता धन्यवाद नै दिए; बरु तिनीहरूका सोच व्यर्थ हुनगयो, र तिनीहरूका मूर्ख हृदयहरू अँध्यारा भए। 22तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। 23अनि अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए।
24यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो, ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। 25तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग स्वीकारे, र सृष्‍टिकर्ताको सट्टामा सृष्‍टि गरिएका थोकहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदा-सर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
26यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। 27त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर अरू पुरुषहरूसँग कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरू आफ्नो गल्तीको दण्ड भोगे।
28तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने त्यही काम गरून्। 29तिनीहरू सब प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, 30निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी, तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्; तिनीहरू आफ्ना आमाबुबाका आज्ञा पालन गर्दैनन्। 31तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर छन्। 32यद्यपि तिनीहरू परमेश्‍वरका धार्मिक विधान जान्दछन्, कि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन्। तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि दिन्छन्।

अहिले सेलेक्ट गरिएको:

रोमी 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्