YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:97-120

भजनसंग्रह 119:97-120 NCV

अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु। तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्‍टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु। सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु। तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु। तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्‍ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्! तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्‍त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु। तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो। मैले शपथ खाएर त्यसलाई पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु। मैले ज्यादै कष्‍ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्! मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ। दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ। तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो। तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ। दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु। हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ! मेरा परमेश्‍वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्! मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु। तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ। पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु। तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु।

भजनसंग्रह 119 पढ्नुहोस्