म तपाईंको व्यवस्थालाई कति प्रेम गर्दछु! म दिनभरि त्यसको बारे सोच्दछु। सबै समय तपाईंको आज्ञा मसित छ र मलाई त्यसले मेरा शत्रुहरूभन्दा बुद्धिमान् बनाउँदछ। मेरा गुरुहरूले भन्दा धेरै म बुझ्दछु किनभने म तपाईंका अर्तीहरूमा ध्यान दिँदछु। बुढापाकाहरूको भन्दा बढ्ता बुद्धि मसँग छ किनभने म तपाईंका आज्ञाहरू मान्दछु। मैले खराब बानीहरू लिएको छैनँ किनभने म तपाईंको वचन मान्न चाहन्छु। मैले तपाईंका अर्तीहरूलाई हेला गरेको छैनँ किनभने तपाईं नै मेरो शिक्षक हुनुहुन्छ। तपाईंका अर्तीहरूको स्वाद कति मीठो छ, त्यो महभन्दा मीठो छ। म तपाईंका व्यवस्थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु। तपाईंको वचन मलाई अगुवाइ गर्ने बत्ती र मलाई बाटो देखाउने ज्योति हो। तपाईंका उचित अर्तीहरू मान्न मैले गरेको गम्भीर प्रतिज्ञा म पूरा गर्नेछु। परमप्रभु, मेरा दु:ख-कष्ट साँच्चै डरलाग्दा छन्, आफ्नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्नुहोस्। हे परमप्रभु! मेरो धन्यवादको प्रार्थना ग्रहण गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म सधैँ आफ्नो जीवन खतरामा हाल्न तयार छु, मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ। दुष्ट मानिसहरूले मलाई पासो थाप्छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु। तपाईंका आज्ञाहरू मेरो अनन्तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्। म नमरुञ्जेलसम्म मैले तपाईंका व्यवस्थाहरू मान्ने निश्चय गरेको छु। जसको तपाईंमाथि पूरा भक्ति छैन, म तिनीहरूलाई घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु। तपाईं नै मलाई बचाउने र मेरा रक्षक हुनुहुन्छ, म तपाईंको प्रतिज्ञामा आफ्नो आशा राख्दछु। पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्वरका आज्ञाहरू मान्नेछु। आफ्नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस् र म जिउनेछु, मेरो आशामा मलाई निराश नपार्नुहोस्। मलाई समातेर थाम्नुहोस् र म कुशल रहनेछु र सधैँ म तपाईंका आज्ञाहरूमा ध्यान दिनेछु। तपाईंका व्यवस्थाहरू नमान्नेलाई तपाईं अस्वीकार गर्नुहुन्छ, तिनीहरूका छलले भरिएका युक्तिहरू बेकामका छन्। सबै दुष्टहरूलाई तपाईंले कसिङ्गरजस्तै गर्नुहुन्छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु। तपाईंको डरको कारणले मेरो शरीर काम्दछ तपाईंका न्यायको कारणले ममा डर भरिएको छ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:97-120
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू