आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्। मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु। धर्म-गुरुहरूको भन्दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु। तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्ना गोडालाई हरेक खराब मार्गबाट अलग्ग राखेको छु। तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्वादिष्ठ छन्, महभन्दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्। तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु। तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो। मैले यो शपथ खाएर दृढ़ सङ्कल्प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्यादै पीडित भएको छु, हे परमप्रभु, आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्। हे परमप्रभु, मेरो मुखबाट स्वेच्छाले निस्केको स्तुति-प्रशंसा ग्रहण गर्नुहोस्, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्। मेरो प्राण निरन्तर जोखिममा रहन्छ, तापनि म तपाईंको व्यवस्था बिर्सन्नँ। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ। तपाईंका कानूनहरू सदाकालको निम्ति मेरा मूल्यवान् सम्पत्ति भएका छन्। तिनले मेरो हृदयलाई हर्षित तुल्याउँछन्। तपाईंका विधिहरू एकदमै अन्त्यसम्म पालन गर्न मैले अठोट गरेको छु। दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्यवस्थासँग म प्रेम राख्तछु। तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकूँ। तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्नुहोस्, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्। मलाई थाम्नुहोस् र म बाँच्नेछु। तपाईंका विधिहरूलाई म निरन्तर आदर गर्नेछु। तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि तिनीहरूको छल व्यर्थको ठहर्छ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु। तपाईंको भयमा मेरो शरीर काम्दछ, तपाईंका नियमहरूले म भयभीत हुन्छु।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:97-120
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू