अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्; पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्। ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो; सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ। तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ; र सबै जङ्गली पशुहरू निस्किआउँछन्। सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन् र तिनीहरूले परमेश्वरबाट आफ्ना आहारा खोज्छन्। सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्; तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्। तब मानिसहरू आफ्ना काममा जान्छन्, र साँझसम्म परिश्रम गर्छन्। हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ! ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सृष्टिले भरिपूर्ण छ। त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगन्ती जीवजन्तुहरू छन्— साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्। त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्; त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो। ठिक समयमा आफ्ना आहारा पाउने आशाले तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्। जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ, तब तिनीहरूले त्यो बटुल्छन्; जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, तिनीहरू उत्तम पदार्थहरूले तृप्त हुन्छन्। जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्; जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्। जब तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, तब तिनीहरूको सृष्टि हुन्छ; र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ। याहवेहको महिमा सदासर्वदा रहिरहोस्; याहवेह आफ्ना कार्यहरूमा प्रसन्न होऊन्— उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ; उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ। म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्वरको प्रशंसा गाउनेछु। जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्। तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्, र दुष्टहरू रहँदै नरहून्!
भजनसंग्रह 104 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 104:18-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू