YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 104:18-35

भजनसंग्रह 104:18-35 NNRV

अल्‍गा-अल्‍गा पहाड़हरू जङ्गली बाख्राहरूका निम्‍ति छन्‌, पहराहरू जङ्गली शापनहरूका निम्‍ति शरणस्‍थान हुन्‍छन्‌। चन्‍द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्‍नो अस्‍ताउने बेला थाहा हुन्‍छ। तपाईंले अन्‍धकार ल्‍याउनुहुन्‍छ, र रात पर्छ, अनि वनका सबै पशुहरू निस्‍किआउँछन्‌। सिंहहरू आफ्‍नो शिकारको निम्‍ति गर्जन्‍छन्‌, तिनीहरूले परमेश्‍वरबाट आफ्‍नो आहार खोज्‍छन्‌। सूर्य उदाउँदा ती गइहाल्‍छन्‌, र आफ्‍नो ओड़ारमा गएर लेट्‌छन्‌। तब मानिस आफ्‍नो कामतिर जान्‍छ, र साँझसम्‍म परिश्रम गर्छ। हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्‌, आफ्‍नो बुद्धिमा तपाईंले ती सबै रच्‍नुभयो। तपाईंले सृष्‍टि गर्नुभएका यावत्‌ थोकले पृथ्‍वी परिपूर्ण छ। त्‍यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्‍ती जलचरहरू छन्‌, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्‍यहाँ छन्‌। त्‍यहाँ जहाजहरू यताउता जान्‍छन्‌। त्‍यहाँ लिव्‍यातन्‌ जन्‍तु पनि छ, जसलाई तपाईंले त्‍यहाँ खेल्‍नलाई रच्‍नुभयो। तपाईंबाट आफ्‍ना आहारा ठीक-ठीक समयमा पाउनका निम्‍ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्‍छन्‌। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्‍छन्‌। तपाईंले आफ्‍नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्‍त हुन्‍छन्‌। तपाईंले आफ्‍नो मुहार छोप्‍नुहुँदा तिनीहरू भयभीत हुन्‍छन्‌। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्‍छन्‌, र फेरि धूलोमा नै फर्कन्‍छन्‌। तपाईंले आफ्‍ना आत्‍मा पठाउनुहुँदा, तिनीहरूको सृष्‍टि हुन्‍छ, र तपाईंले पृथ्‍वीको रूपलाई नयाँ तुल्‍याउनुहुन्‍छ। परमप्रभुको महिमा सदा भइरहोस्‌, परमप्रभु आफ्‍ना कार्यहरूमा प्रसन्‍न होऊन्‌। तपाईंको दृष्‍टि पर्दा पृथ्‍वी कम्‍पायमान हुन्‍छ, तपाईंको स्‍पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्‍कन्‍छ। मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्‍जेल मेरा परमेश्‍वरमा प्रशंसाको स्‍तुति गाउनेछु। मेरो चिन्‍तनमनन उहाँलाई मन परोस्‌, किनकि म परमप्रभुमा आनन्‍दित हुन्‍छु। तर पापीहरू पृथ्‍वीबाट विलोप भइजाऊन्‌, र दुष्‍टहरू फेरि कहिल्‍यै नरहून्‌। हे मेरो प्राण, परमप्रभुको स्‍तुति गर्‌। परमप्रभुको प्रशंसा गर्‌।