गन्ती 3:1-10
गन्ती 3:1-10 NCV
याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो। हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए। पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे। याहवेहले मोशालाई भन्नुभयो, “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्। तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्। तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्। लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ। हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”

