उहाँ तिनीहरूका अविश्वास देखेर छक्क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो। तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो। उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।” तिनीहरू गए, र मानिसहरूले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्तिस्मा दिने यूहन्ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।” जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्ना मरेकोबाट जीवित भएको छ।” किनकि हेरोद आफैँले यूहन्नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।” यसकारण हेरोदियासले यूहन्नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:6-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू