मर्कूस 6:6-19
मर्कूस 6:6-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो। त्यति बेला उहाँले आफूले छान्नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा यसो भन्दै पठाउनुभयो, “टेक्ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” उहाँले तिनीहरूलाई अझै भन्दैजानुभयो, “कुनै गाउँमा पुग्दा जुन घरमा पस्छौ, त्यो गाउँ नछोडुञ्जेलसम्म त्यही घरमा बस्नू। अनि कुनै ठाउँमा पुग्दा मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् र तिमीहरूका कुरा सुन्न मानेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिंदै पैतालाको धुलो त्यहीं टक्टक्याएर त्यो गाउँ छोडिदेओ।” त्यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले। तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे। येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्दै थिए, “बप्तिस्मा दिने यूहन्ना मरेकोबाट बिउँतेछन्, त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्!” कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्किएछन्,” भन्थे। यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!” त्यसको केही समय पहिले हेरोदले यूहन्नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्नै भाइ फिलिपकी स्वास्नी हेरोदियासलाई ल्याएर राखेका थिए। अनि बप्तिस्मा दिने यूहन्नाले “भाइकी स्वास्नी यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाइरहन्थे। त्यसो हुँदा हेरोदियासलाई यूहन्नासँग रिस उठेको थियो। तिनी यूहन्नालाई मार्न चाहन्थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन्
मर्कूस 6:6-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो। उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू। जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्नू।” उहाँले तिनीहरूलाई भन्नुभयो, “जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।” तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, “बप्तिस्मा-दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका काम भइरहेछन्।” तर अरूहरूले भने, “यिनी एलिया हुन्।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्तै एक अगमवक्ता हुन्।” तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्ना, जसको शिर मैले काट्न लगाएँ, त्यही बौरिउठेछ।” किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नो भाइकी श्रीमती राख्नु तपाईंलाई न्यायसङ्गत छैन।” यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्।
मर्कूस 6:6-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ तिनीहरूका अविश्वास देखेर छक्क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो। तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो। उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।” तिनीहरू गए, र मानिसहरूले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्तिस्मा दिने यूहन्ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।” जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्ना मरेकोबाट जीवित भएको छ।” किनकि हेरोद आफैँले यूहन्नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।” यसकारण हेरोदियासले यूहन्नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।
मर्कूस 6:6-19 पवित्र बाइबल (NERV)
ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो। येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।” चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए। राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।” अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।” हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।” हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्।