मर्कूस 6
6
आदरविनाको अगमवक्ता
1येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफ्नो घर भएको शहरमा जानुभयो। 2विश्रामदिन आएपछि, उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्नेहरू धेरैजना छक्क परे।
तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पायो? यसलाई दिइएको यो कस्तो बुद्धि हो? जसले शक्तिशाली कामहरू पनि गर्छ? 3के यो सिकर्मी होइन? के यो मरियमको छोरो अनि याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।
4तब येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ता आफ्नै शहरमा, आफ्नै नातेदारहरूको बीचमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।” 5उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्नु बाहेक अरू कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन। 6अनि उहाँ तिनीहरूका अविश्वास देखेर छक्क पर्नुभयो।
येशूले बाह्रैजना चेलाहरूलाई पठाउनुभएको
त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँ जानुभयो। 7बाह्र जनालाई आफूकहाँ बोलाएर, तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।
8उहाँका आदेशहरू यस्ता थिए: “यात्राको लागि एउटा लट्ठीबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। 9जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। 10जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो शहरलाई नछोडेसम्म त्यहीं अतिथीको रूपमा बस। 11अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिदैन भने, तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति तिमीहरूका खुट्टाको धूलोसमेत टक्टक्याइदेओ।”
12तिनीहरू गए, अनि मानिसहरूले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। 13तिनीहरूले धेरै भूतहरू धपाए, अनि धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।
बप्तिस्मा दिने यूहन्नाको शिर काटिएको
14राजा हेरोदले यस विषयमा सुने, किनकि येशूको नाउँ चारैतिर प्रचलित थियो। कतिले भन्दैथिए, “बप्तिस्मा दिने यूहन्ना मरेकाबाट जीवित भएका छन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
15अनि अरूले भन्थे, “एलिया हुन्।”
अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्येका एकजना अगमवक्ता हुन्।”
16तर जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्ना मरेकोबाट जीवित भएको छ।”
17किनकि हेरोद आफैले यूहन्नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनकि तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए, जसलाई तिनले विवाह गरेका थिए। 18किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले आफ्नै भाइकी पत्नी राख्नु उचित छैन।” 19यसकारण हेरोदियासले यूहन्नाको विरुद्धमा एउटा ईख राखेकी थिइन्, अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्, 20हेरोद यूहन्नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धार्मिक र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्नाका कुरा सुन्थे, तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्न मन पराउँथे।
21आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्च पदाधिकारीहरू, सेनाका कप्तानहरू अनि गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। 22अनि हेरोदियासकी छोरीले आएर नाची, उसले हेरोद अनि तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी।
राजाले त्यस केटीलाई भने, “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु।” 23अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु, मेरो राज्यको आधा भागसम्म पनि।”
24त्यसले गएर आफ्नी आमालाई भनी, “म के मागूँ?”
अनि तिनले जवाफ दिइन्, “बप्तिस्मा दिने यूहन्नाको शिर।”
25त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो विन्ती चढाई: “तपाईंले अहिल्यै बप्तिस्मा दिने यूहन्नाको शिर मलाई यस थालमा दिनुहोस् भन्ने म चाहन्छु।”
26राजा अत्यन्तै दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। 27यसकारण तिनले तुरुन्तै फाँसी दिने मानिसलाई यूहन्नाको शिर ल्याउनु भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, अनि झ्यालखानामा यूहन्नाको शिर काट्यो, 28अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। 29यो सुनेर यूहन्नाका चेलाहरू आए, र तिनको शरीर लगे अनि चिहानमा राखे।
येशूले पाँच हजारलाई खुवाउनुभएको
30प्रेरितहरू येशूको वरिपरि भेला भए, अनि आफूले गरेका काम र सिकाएका सबै कुराहरू बताए। 31तब यति धेरै मानिसहरू आउँदैजाँदै गरेका थिए कि, उहाँहरूले खानसमेत मौका नपाउनुभएकोले उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मात्र मसित एउटा एकान्त ठाउँमा आओ, अनि केही विश्राम लेओ।”
32यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो। 33तर धेरैले उहाँहरू जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले, अनि सबै शहरहरूबाट पैदलै दौडेर उहाँहरूभन्दा अघि त्यहाँ पुगे। 34जब येशू उत्रनुभयो, अनि उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो, उहाँले तिनीहरूलाई टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।
35त्यस बेला दिन ढल्किसकेको थियो, त्यसकारण उहाँका चेलाहरू उहाँकहाँ आएर तिनीहरूले भने, “यो एउटा सुनसान ठाउँ हो, अनि धेरै ढिलो भइसकेको छ। 36यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”
37तर उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
तिनीहरूले उहाँलाई भने, “त्यसको लागि त छ महिनाभन्दा बढिको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिऔं?”
38उहाँले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्? जाओ गएर हेर।”
जब तिनीहरूले पत्ता लगाएर भने, “पाँचओटा रोटी र दुईओटा माछा।”
39तब येशूले तिनीहरू सबैलाई हरियो चउरमा झुण्ड-झुण्ड भई बस्न लाउने आज्ञा दिनुभयो। 40यसकारण तिनीहरू सय अनि पचासको झुण्ड भई बसे। 41ती पाँच रोटी र दुईटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो अनि रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। 42तिनीहरू सबैले खाए, र अघाए, 43अनि चेलाहरूले उब्रेका रोटीका टुक्राहरू र माछाहरू बाह्र डालाभरि उठाए। 44ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।
येशू पानीमाथि हिँड्नुभएको
45त्यसको लगत्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर उहाँभन्दा पहिले बेथसेदामा जान लगाउनुभयो, अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो। 46तिनीहरूबाट बिदा भएपछि, उहाँ प्रार्थना गर्न एउटा पहाडमा जानुभयो।
47त्यतिखेर रात परिसकेको थियो, डुङ्गा तालको बीचमा थियो, र उहाँचाहिँ जमिनमा एकलै हुनुहुन्थ्यो। 48उहाँले चेलाहरूलाई डुङ्गा खियाउनको लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो, किनकि बतास तिनीहरूका विपरीत चलिरहेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, 49जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत भनी सम्झे। तिनीहरू जोडले चिच्याए, 50किनकि तिनीहरूले उहाँलाई देखेर भयभीत भए।
तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, “साहस गर! म नै हुँ। नडराओ।” 51तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, अनि बतास थामियो। तिनीहरू साह्रै छक्क परे, 52किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थिए।
53उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा उत्रनुभयो, अनि डुङ्गा किनारमा लगाउनुभयो। 54उहाँहरू डुङ्गाबाट निस्कनसाथ मानिसहरूले येशूलाई चिने। 55तिनीहरू दगुर्दै सारा प्रदेशबाट रोगीहरूलाई ओछ्यानमा राखेर उहाँ जहाँ हुनुहुन्थ्यो, त्यतै लगेर गए। 56अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, शहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई विन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
अहिले सेलेक्ट गरिएको:
मर्कूस 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.