मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।” यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो। तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे। जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। उहाँले तिनीहरूलाई देखेर टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो। त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ। यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।” तर उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?” उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।” तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले पेटभरि खाए। अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:31-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू