उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे। जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्नुभयो। अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्त ठाउँ छ, र अब दिन धेरै ढल्किसक्यो। मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्ती र गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुरा किनून्।” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो। तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे। उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। अनि सबैले खाए, र तृप्त भए। पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
मर्कूस 6 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:31-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू