YouVersion लोगो
खोज आइकन

मर्कूस 6:31-43

मर्कूस 6:31-43 सरल नेपाली

अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “हामी एकान्‍त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्‍यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्‍म पनि फुर्सद भएन। त्‍यसकारण उहाँहरू नाउमा चढेर एकान्‍त ठाउँमा जानुभयो। तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्‍यहाँ पुगे। येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्‍ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्‍नुभयो। साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्‍यो र एकान्‍त ठाउँ छ। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।” येशूले भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्‍का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्‍नुहुन्‍छ?” येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!” त्‍यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो। मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे। अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो। त्‍यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। अनि सबैले अघाउञ्‍जेल खाए। चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्‍दा त बाह्र डाला जति भरिए।

मर्कूस 6 पढ्नुहोस्