YouVersion लोगो
खोज आइकन

मर्कूस 12:1-17

मर्कूस 12:1-17 NCV

येशू तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिएर यात्रामा निस्के। कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए। तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे। “अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’ “तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’ यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए। “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो; यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्‍टिमा आश्‍चर्यको छ।’” तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले। केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए। तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न; तर तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन? हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।” तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।

मर्कूस 12 पढ्नुहोस्