येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए। उनले दाखबारीको चारैतिर बारहरू लगाइदिए एउटा खाडल खनेर दाख पेल्ने कोल बनाइदिए र त्यो दाखबारी कुर्ने मचान पनि बनाइदिए अनि त्यो दाखबारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे। “अङ्गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। तर ती मोहीहरूले त्यस नोकरलाई कुटेर केही पनि नदिई फर्काइदिए। त्यसपछि बारीको धनीले अर्को नोकर पठाए, तर त्यसलाई पनि मोहीहरूले बेइज्जत गरेर टाउको फुटाइदिए। धनीले फेरि अर्को नोकर पठाए। त्यसलाई त मोहीहरूले मारिदिए। यसरी तिनीहरूले अरू धेरै नोकरहरू कतिलाई तिनीहरूले पिटे र कतिलाई मारे। “अब अन्तमा ती धनीको एउटै मात्र प्यारो छोरो बाँकी रहेको थियो। ‘मेरो छोरालाई त तिनीहरूले पक्कै आदर गर्नेछन्’ भन्ने ठानेर उनले आफ्नै छोरालाई मोहीहरूकहाँ पठाए। तर ती मोहीहरूले मतो गरेर यसो भने, ‘लौ त्यो त बारीको धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र सम्पत्ति हाम्रै हुनेछ।’ यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्याँकिदिए। “अब त्यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई पक्कै नै मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्। के तिमीहरूले धर्मशास्त्रमा लेखिएका यी कुरा पढेका छैनौ? डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा भयो। त्यस्तो त परमप्रभु आफैंले गर्नुभएको हो, यो कति अचम्मको काम रहेछ,।” येशूले यो कुरा तिनीहरूकै विरोधमा भन्नुभएको हो भनेर यहूदी अगुवाहरूले बुझे। त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भीडको डरले गर्दा तिनीहरूले उहाँलाई पक्रन सकेनन्। त्यसो हुँदा तिनीहरूले उहाँलाई छोडेर गए। त्यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए। उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता गर्नुहुन्न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्न। तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन? हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्दै छन् भन्ने बुझेर येशूले भन्नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्छौ? खै सिक्का ल्याओ, हेरौं!” तिनीहरूले उहाँलाई एउटा सिक्का ल्याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको यस्तो जवाफ सुनेर तिनीहरू छक्कै परे।
मर्कूस 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू